गृह मन्त्रालयद्वारा एनप्याब्सन अनिश्चितकालका लागि निलम्बित

953 Shares
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

मन्त्रालयले २०८३ कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार एनप्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट पटकपटक जारी गरिएका निर्देशन पालना गरेको छैन। साथै, संस्थाका पदाधिकारीले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको मन्त्रालयको ठहर छ।

मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित पक्षसँग छलफल गरी तथा २०८२ मंसिर १२ गते निर्देशन जारी गर्दै त्यसको पालना गर्न आग्रह गरेको भए पनि संस्थाले अटेर गरेको जनाएको छ।

निलम्बनसम्बन्धी सूचना जारी भएपछि एनप्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गर्ने गतिविधि गैरकानुनी हुने मन्त्रालयले स्पष्ट पारेको छ।

त्यसैगरी, निलम्बनमा परेको संस्थाको नाम प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।npabsion-e1793353556802.jpg

सम्बन्धित समाचार