न्यायाधीशबारे उठेका प्रश्न संसद्मा छलफल हुनुपर्छ : रास्वपा सांसद न्यौपाने

1k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि उठेका प्रश्न अब प्रतिनिधिसभामा छलफलको विषय बन्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद न्यौपानेले न्यायालय र प्रहरी प्रशासनको नेतृत्वमाथि नै प्रश्न उठिरहेको अवस्थामा प्रतिनिधिसभा मौन बसेर हेर्न नमिल्ने बताएका हुन्।

उनले न्यायालयको निष्पक्षता र प्रहरी प्रशासनको विश्वसनीयतामाथि प्रश्न उठेको विषयलाई संसद्ले गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरेका छन्। आवश्यक परे संसद्को अधिवेशनसमेत आह्वान गर्नुपर्ने उनको भनाइ छ। 


न्यौपानेले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको अवस्थामा एक चौथाइ सदस्यले अधिवेशन आह्वानका लागि माग गरेमा १५ दिनभित्र बैठक बस्न सक्ने संवैधानिक व्यवस्थाको प्रयोग गर्नुपर्ने बताएका छन्।

उनले नाम मात्रका समिति तथा उपसमिति गठन गरेर विषयलाई औपचारिकतामा सीमित गर्न नहुने धारणा राखेका छन्। साथै, आफ्नो अभिव्यक्ति व्यक्तिगत विचार भएको पनि उनले स्पष्ट पारेका छन्। 


विचौलियासँग न्यायाधीशको संवाद सार्वजनिक भएपछि प्रश्न

विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र संवादबारे विवरण सार्वजनिक भएपछि न्यायपालिकाको निष्पक्षता र न्यायिक आचरणमाथि प्रश्न उठेको हो।

सापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, अन्य न्यायाधीश तथा प्रहरीका उच्च अधिकारीहरूसँग भएका संवाद र कारोबारका विवरण सार्वजनिक भएको समाचारमा उल्लेख छ। सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेट गरेको विषयसमेत बाहिर आएको छ। 


यसै विषयमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरण र इजलास गठनको पारदर्शिताबारे छलफल गर्न सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्।

न्यायाधीशबारे उठेका प्रश्नको छानबिन, जवाफदेहिता र न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी विषयले पछिल्लो समय राजनीतिक तथा न्यायिक वृत्तमा बहस सिर्जना गरेको छ।

सम्बन्धित समाचार