काठमाडौं । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। महानिर्देशक रजौरियालाई सिरहाको लहानबाट र आयोजना निर्देशक रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जनाएको छ।
उनीहरूलाई काठमाडौं ल्याएर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको हो। प्रहरीले दुवै जनालाई हिरासतमा नराखिएको र प्रधानमन्त्री कार्यालयमै बुझाइएको जनाएको छ।
सुनकोशी मरिण आयोजनाको ठेक्का विवादसँग जोडिएको आशंका
उनीहरूलाई नियन्त्रणमा लिनुको कारणबारे औपचारिक विवरण सार्वजनिक नभए पनि सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषय हुन सक्ने आकलन गरिएको छ।
उक्त आयोजनाको बाँध, विद्युत्गृह तथा अन्य संरचना निर्माणका लागि पटक–पटक ठेक्का लाग्ने र रद्द हुने क्रम चल्दै आएको छ। पछिल्लो समय बाँकी संरचना निर्माणका लागि नयाँ अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया अघि बढाइएको छ।
आयोजनाको ठेक्कासम्बन्धी प्रक्रियामा प्राविधिक मूल्याङ्कनबाट अयोग्य ठहरिएको एउटा प्रस्तावलाई पुनः प्रक्रियामा समावेश गराउन दबाब आएको र आर्थिक प्रस्ताव खोल्ने निर्धारित मिति प्रभावित पार्न खोजिएको विषयसमेत सार्वजनिक भएको छ।
तर, महानिर्देशक र आयोजना प्रमुखलाई नियन्त्रणमा लिनुको वास्तविक कारण तथा उनीहरूमाथि कुनै औपचारिक आरोप लगाइएको हो वा होइन भन्नेबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिएको छैन।
के हो सुनकोशी मरिण आयोजना ?
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना हो। यसअन्तर्गत सुनकोशी नदीको पानी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसालेर बागमती सिँचाइ आयोजनामा पुर्याउने योजना छ।
आयोजना सम्पन्न भएपछि मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। साथै, आयोजनाबाट विद्युत् उत्पादन गर्ने योजना पनि छ।
आयोजनाको ठेक्का प्रक्रिया र सरकारी अधिकारीहरूलाई नियन्त्रणमा लिइएको घटनाले अहिले प्रशासनिक तथा कर्मचारी वृत्तमा चासो बढाएको छ।