भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न भूमि अधिकारकर्मीको माग

687 Shares

काठमाडौं । भूमि अधिकारसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न माग गर्दै संसदीय समितिका सभापतिलाई विशेष अनुरोधपत्र बुझाएका छन्।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि सञ्जालको संयुक्त टोलीले प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसँग भेट गरी आफ्ना माग राखेको हो।

भेटका क्रममा टोलीले भूमि अधिकारबाट वञ्चित समुदायका समस्या समाधानका लागि सरकार र संसद्ले विशेष पहल गर्नुपर्नेमा जोड दिएको थियो। उनीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, भूमिसम्बन्धी कानुनमा आवश्यक सुधार, भूमि समस्या समाधान समितिको प्रभावकारी कार्यान्वयन र प्रभावित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।

 

वास्तविक भूमिहीनको अधिकार सुनिश्चित गर्नुपर्ने

भूमि अधिकारकर्मीहरूको माग सुनेपछि समितिका सभापति चौधरीले वास्तविक भूमिहीन नागरिकको भूमि अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताएका छन्।

उनले भूमि समस्या समाधान गर्ने नाममा वास्तविक भूमिहीन नागरिकको अधिकार ओझेलमा पर्न नहुने स्पष्ट पारे। भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक अवस्थाको पहिचान गरी न्यायोचित र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने उनको भनाइ थियो।

पारदर्शी मापदण्ड र निष्पक्ष प्रक्रिया आवश्यक

सभापति चौधरीले यसपटक भूमिसम्बन्धी समस्यालाई अलग-अलग पहिचान गरेर पारदर्शी मापदण्ड र निष्पक्ष प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

विगतमा विभिन्न कारणले छुटेका भूमि समस्यालाई कानुनी संशोधनमार्फत सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले जग्गाधनी पुर्जा वितरण प्रक्रियालाई समेत तीव्रता दिनुपर्ने बताएका छन्।

भूमिहीन तथा सुकुम्बासीको समस्या लामो समयदेखि समाधान हुन नसक्दा हजारौँ परिवार भूमि स्वामित्वबाट वञ्चित छन्। उनीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न कानुनी व्यवस्था, प्रभावकारी कार्यान्वयन र सम्बन्धित समुदायको सहभागिता आवश्यक देखिएको छ।

भूमि अधिकार सुनिश्चित गर्दै वास्तविक भूमिहीनलाई न्याय प्रदान गर्न संसदीय समिति, सरकार र सम्बन्धित निकायबीच समन्वय हुनुपर्ने मागसमेत उठेको छ।

सम्बन्धित समाचार