नास्टको नेतृत्व चयन प्रक्रिया अघि बढाउन जनार्दन लामिछानेको संयोजकत्वमा अन्तरिम समिति गठन

1k Shares

काठमाडौं । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्ट) को काम–कारबाही सञ्चालन तथा संस्थागत पुनर्संरचनाका लागि डा. जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन गरिएको छ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ मा रहेको संक्रमणकालीन व्यवस्थाअनुसार प्राज्ञ सभा गठन तथा अध्यक्ष र उपाध्यक्ष नियुक्ति नभएसम्मका लागि बढीमा तीन महिनाको अवधि रहने गरी समिति गठन गरिएको हो।

मन्त्रालयको २०८३ कात्तिक ११ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिमा डा. लामिछाने संयोजक रहेका छन्। समितिका अन्य सदस्यमा डा. गोपालबहादुर केसी, डा. सुनिलकुमार सिंह, डा. बबिता पौडेल र डा. रेश्मा श्रेष्ठ रहेका छन्।

समितिमा मनोनित पदाधिकारीलाई कात्तिक १२ गते बिहान ९ बजे मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महावीर पुनले मनोनयनपत्र प्रदान गरेका थिए।

कार्यक्रममा मन्त्री पुनले अध्यादेशको मर्मअनुसार प्रतिष्ठानको पुनर्संरचना गर्न आवश्यक नियमावली तथा विनियमावलीको मस्यौदा तयार गर्न निर्देशन दिएका थिए। उनले प्राज्ञ सभा गठन प्रक्रिया अघि बढाउनुका साथै प्रतिष्ठानको अध्यक्षको निर्वाचन र उपाध्यक्षको मनोनयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिए।

अन्तरिम व्यवस्थापन समितिले मन्त्रालय, नास्ट परिवार तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी आधारभूत काम तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएको छ।

नयाँ अध्यादेशअनुसार प्रतिष्ठानको संस्थागत संरचना व्यवस्थित गर्ने, आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने र नियमित नेतृत्व चयनका लागि आधार तयार गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

समिति गठनसँगै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अनुसन्धान, विकास र संस्थागत गतिविधिलाई नयाँ संरचनाअनुसार सञ्चालन गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार