काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आगामी दशकलाई सामाजिक रूपान्तरणको दशकका रूपमा विकास गर्न पार्टीले विशेष प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्।
पार्टी मुख्यालय सानेपामा आयोजित १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले समाजमा विद्यमान विकृति, विभेद र असमानता अन्त्य गर्ने अभियानलाई पार्टीले केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई परिणाममुखी काममा केन्द्रित हुन आग्रह गर्दै पार्टीको स्पष्ट नीति र सभापतिको कार्ययोजनाअनुसार जिम्मेवारी पूरा गर्नुपर्ने बताए। जिम्मेवार र प्रभावकारी कार्यसम्पादनबाट मात्रै जनतामाझ पार्टीप्रति सकारात्मक सन्देश प्रवाह हुने उनको भनाइ थियो।
डिजिटल युगमा सामाजिक सञ्जालको बढ्दो प्रभावबारे चर्चा गर्दै शर्माले गलत सूचना र भ्रामक प्रचारको खण्डन तथ्य तथा विधिसम्मत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए। सामाजिक सञ्जाललाई द्वेष र भ्रम फैलाउने माध्यम नभई सामाजिक चेतना अभिवृद्धि तथा रूपान्तरणको सशक्त साधनका रूपमा प्रयोग गर्नुपर्ने उनले बताए।
शर्माले पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्ने उल्लेख गरे। जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाल संरक्षण तथा विदेशमा रहेका नेपालीका भावना र समस्याको सम्बोधनका लागि कांग्रेस सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे।
उनका अनुसार सामाजिक विभेदको अन्त्य, जनताप्रति उत्तरदायी कार्यशैली र राष्ट्रिय मुद्दामा सहकार्यलाई प्राथमिकता दिएर अघि बढ्नु अहिलेको आवश्यकता हो।