कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, हलुका सवारीलाई ६० देखि ६५ रुपैयाँ

925 Shares

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको निर्णयअनुसार शुल्क संकलन सुरु गर्न लागेको जनाएको छ।

सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो। सवारीसाधनको प्रकार र क्षमताका आधारमा काठमाडौं प्रवेश गर्दा र बाहिरिँदा लाग्ने शुल्क छुट्टाछुट्टै तोकिएको छ।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनीबस, मिनी टिपर तथा मिनी ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। बस तथा सिंगल रियर एक्सल ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

यसैगरी, मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

नागढुंगा–नौबिसे सुरुङमार्ग गत साउन ११ गते उद्घाटन भएपछि परीक्षणका रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए। अब कात्तिक १५ गतेदेखि भने निर्धारित शुल्कसहित सुरुङमार्ग सञ्चालन हुने भएको छ।

सुरुङमार्ग सञ्चालनबाट नागढुंगा क्षेत्रमा हुने सवारी चाप कम गर्न तथा काठमाडौं उपत्यका प्रवेश र बाहिरिने यात्रालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार