विपद्बाट कृषि, पशुपन्छी र जैविक विविधतामा भएको क्षतिको विवरण संकलन हुँदै

827 Shares

काठमाडौं । सरकारले हालैका विपद्का घटनाबाट कृषि, पशुपन्छी, जलीय जीव तथा जैविक विविधतामा पुगेको क्षतिको विवरण संकलन तथा आकलन गर्ने काम अघि बढाएको छ। बाढीपहिरोलगायतका विपद्का कारण कृषि उत्पादन, पशुपालन, मत्स्यपालन र ग्रामीण जनजीवनमा ठूलो असर परेपछि सरकारले क्षतिको वास्तविक अवस्था पहिचान गर्न थालेको हो।

कृषि विभागका अनुसार विपद्बाट प्रभावित क्षेत्रको विवरण संकलन गर्न प्रदेश तथा स्थानीय सरकारसँग समन्वय भइरहेको छ। क्षतिको पूर्ण विवरण अझै प्राप्त भइनसकेको र सम्बन्धित निकायबाट तथ्यांक संकलनको काम जारी रहेको जनाइएको छ।

 

हजारौँ हेक्टर कृषि जमिन प्रभावित

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। प्रारम्भिक आकलनअनुसार करिब एक हजार ८०६ हेक्टर कृषि जमिन प्रभावित भएको छ। यसमध्ये एक हजार ६६९ हेक्टरमा लगाइएको धानबाली र १३७ हेक्टरमा लगाइएको तरकारीबालीमा क्षति पुगेको छ। बाढीका कारण हजारौँ टन कृषि उत्पादनमा समेत नोक्सानी भएको छ।

 

बाढीले पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा पनि गम्भीर असर पारेको छ। विभिन्न स्थानमा पशुपन्छी बगाउनुका साथै माछापालनका पोखरी, उत्पादन संरचना र अन्य पूर्वाधारमा क्षति पुगेको छ। कतिपय खेतीयोग्य जमिनमा गेग्रान, बालुवा र माटो थुप्रिँदा आगामी खेतीपातीसमेत प्रभावित हुने जोखिम बढेको छ।

क्षतिको विवरणका आधारमा पुनःस्थापनाको योजना

सरकारले संकलित विवरणका आधारमा प्रभावित क्षेत्रको वास्तविक क्षति पहिचान गरी पुनःस्थापना तथा पुनरुत्थानका कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ। प्रभावित किसानलाई राहत उपलब्ध गराउने, कृषि उत्पादन पुनःस्थापना गर्ने, पशुपन्छीको उपचार तथा रोग नियन्त्रण गर्ने र मत्स्यपालन क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।

विपद्बाट भएको क्षति तत्कालीन उत्पादनमा मात्र सीमित नरही किसानको आम्दानी, खाद्य सुरक्षा र आगामी खेती चक्रमा समेत असर पार्ने भएकाले समयमै सहयोग आवश्यक रहेको कृषि क्षेत्रका सरोकारवालाले औँल्याउँदै आएका छन्।

 

सरकारले क्षतिको विस्तृत विवरण तयार पारेपछि पुनर्निर्माण, राहत तथा प्रभावित समुदायको जीविकोपार्जन पुनःस्थापनाका लागि आवश्यक कार्यक्रम र स्रोत परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार