काठमाडौं। शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रमको सूचीमा परेका करिब ६ हजार शिक्षकका उजुरी पुनरावलोकन गरी नतिजा प्रकाशन गर्ने प्रक्रिया तीव्र बनाएको छ। कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नतिजामाथि परेका उजुरीको अध्ययनपछि आयोगले सम्बन्धित तह र जिल्लाको संशोधित नतिजा सार्वजनिक गर्न थालेको हो।
आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएका निर्णयका आधारमा ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाको योग्यताक्रम पुनरावलोकन गरिएको हो। आयोगले प्राप्त कागजात र प्रमाण अध्ययन गरी सम्बन्धित शिक्षकको बढुवा नतिजा कायम गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
शिक्षकको कार्यसम्पादन मूल्याङ्कनमा चित्त नबुझाई परेका उजुरीमाथि शिक्षा विकास निर्देशनालयबाट भएको निर्णयको पुनरावलोकन आयोगले गर्दै आएको छ। तर, आयोगका पदाधिकारी रिक्त हुँदा पछिल्लो छ महिनादेखि यो प्रक्रिया प्रभावित भएको थियो।
शिक्षक सेवा आयोगले कात्तिक महिनामा माध्यमिक तह द्वितीय श्रेणीको इलाम, सुनसरी, झापा र सोलुखुम्बुको बढुवा नतिजा पुनरावलोकन गरी सार्वजनिक गरेको छ।
त्यसैगरी, गत असोज २९ गते प्राथमिक तह द्वितीय श्रेणीअन्तर्गत लमजुङ, बागलुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्की जिल्लाको पुनरावलोकन नतिजा प्रकाशित गरिएको आयोगले जनाएको छ।
आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित) को परिच्छेद १५ मा भएको व्यवस्थाअनुसार उजुरीमाथि अध्ययन गरी नतिजा सार्वजनिक गरिरहेको छ।
सरकारले गत भदौ २५ गते डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्षसहित अन्य पदाधिकारी नियुक्त गरेको थियो। त्यसअघि गत वैशाख १८ गते जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ का कारण आयोगका पदाधिकारी पदमुक्त भएपछि बढुवासम्बन्धी पुनरावलोकन प्रक्रिया रोकिएको थियो।
नयाँ पदाधिकारी नियुक्त भएसँगै आयोगले रोकिएका कामलाई अघि बढाउँदै नतिजा प्रकाशनमा तीव्रता दिएको हो।
शिक्षक सेवा आयोग सामुदायिक विद्यालयका शिक्षकको स्थायी नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्ने जिम्मेवार निकाय हो। बढुवा प्रक्रियामा ढिलाइ हुँदा लामो समयदेखि नतिजाको प्रतीक्षामा रहेका शिक्षकको वृत्तिविकास र सेवासुविधामा असर परेको थियो।
पुनरावलोकनको नतिजा प्रकाशनले उजुरी दिएका शिक्षकको बढुवासम्बन्धी अन्योल हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाँकी जिल्लाको नतिजा पनि अध्ययन र आवश्यक प्रक्रिया पूरा भएपछि क्रमशः सार्वजनिक हुने आयोगको कार्यप्रगतिबाट देखिन्छ।
शिक्षकहरूले आफ्नो जिल्लाको बढुवा पुनरावलोकनसम्बन्धी पछिल्लो सूचना तथा नतिजा आयोगको आधिकारिक वेबसाइटमा हेर्न सक्छन्।