ब्लड बैंकमा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको विशेष आग्रह

981 Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रक्तदान गर्न आम नागरिकलाई विशेष आग्रह गरेको छ । बडादसैँको बिदासँगै रक्तदान कार्यक्रम घट्नु र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै जानुले रगत व्यवस्थापनमा कठिनाइ भएको रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार केन्द्रमा सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट रिच प्लाज्मा (पीआरपी) को मौज्दात सकिएको छ ।

“रक्तसञ्चार केन्द्रमा सम्पूर्ण समूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल र पीआरपीको मौज्दात सकिएको छ । यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापन गर्न कठिनाइ भएको छ,” यादवले भने ।

उनले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।

चाडपर्वपछि रक्तदान कार्यक्रम घटे

चाडपर्वका कारण सरकारी तथा निजी कार्यालय र शैक्षिक संस्थामा बिदा हुँदा नियमित रूपमा सञ्चालन हुँदै आएका रक्तदान कार्यक्रम घटेका छन् । यसले रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन कम भएको र बिरामीका लागि आवश्यक रगत उपलब्ध गराउन समस्या बढेको रेडक्रसको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले स्वयंसेवी रक्तदाता, विभिन्न सङ्घसंस्था तथा सामाजिक संस्थालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न आह्वान गरेका छन् ।

अस्पतालमा उपचाररत बिरामीको जीवनरक्षाका लागि रगतको आवश्यकता पर्ने भएकाले स्वस्थ व्यक्तिले रक्तदान गरेर सहयोग गर्नुपर्नेमा रेडक्रसले जोड दिएको छ ।

७३ जिल्लाका १२० स्थानबाट सेवा

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालका अनुसार संस्थाले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गरिरहेको छ ।

रेडक्रसले रगत आवश्यक परेका बिरामी तथा रक्तदान गर्न इच्छुक व्यक्तिलाई केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१-५३८८४८५ र ०१-५३८८४८६ मा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी, नेपाल रेडक्रसको निःशुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिने जनाएको छ ।

रक्तसञ्चारसम्बन्धी जानकारी प्राप्त गर्न मोबाइलको प्ले स्टोरबाट ‘एनआरसीएस बीटीएस’ एप डाउनलोड गरेर पनि विवरण हेर्न सकिने रेडक्रसले जनाएको छ ।

रगतको अभावका कारण बिरामीको उपचारमा समस्या हुन नदिन रेडक्रसले नियमित रक्तदातासहित नयाँ स्वयंसेवी रक्तदातालाई समेत रक्तदान अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

सम्बन्धित समाचार