काठमाडौँ । काग तिहारका अवसरमा आज बिहानैदेखि काठमाडौँका विभिन्न कागेश्वरी मन्दिरमा पूजा तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
राजधानीको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । काग तिहारका दिन यस मन्दिरमा पूजा तथा दर्शन गरे कागबाट सहयोग प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।
हरेक वर्ष कागे अष्टमी र काग तिहारका अवसरमा यस मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गर्दछ । मन्दिर परिसरमा रहेको २२७ किलो तौलको पित्तललगायत अष्टधातुबाट निर्मित कागको मूर्ति धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । उक्त मूर्तिलाई नेपालकै ठूलो कागको मूर्तिका रूपमा चिनिन्छ ।
त्यस्तै, मन्दिरमाथि रहेको सहिद उद्यानमा एक हजार किलो अष्टधातु प्रयोग गरी निर्माण गरिएको विशाल कागको मूर्ति पनि रहेको छ । उक्त मूर्तिलाई विश्वकै ठूलो कागको मूर्ति भएको जनाइएको छ ।
काग तिहारकै अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिर र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा समेत बिहानैदेखि पूजा आराधना गर्ने भक्तजनको भीड लागेको छ ।
यस पर्वमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्ने धार्मिक मान्यता छ । सोही परम्पराअनुसार आज घरघरमा कागका लागि विभिन्न मीठा परिकार राखेर खुवाउने तथा पूजा गर्ने चलन रहेको छ ।