निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऔँ : बाबुराम भट्टराई

1.1k Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताबाट निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्। निर्वाचन सम्पन्न भएको केही दिनमै सरकार परिवर्तन गर्ने वा ढाल्ने विषयमा चर्चा सुरु हुनु चिन्ताजनक भएको उनको भनाइ छ।

 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलन र सरकार परिवर्तनको बहस सुरु हुनुलाई विडम्बनापूर्ण बताएका हुन्।

उनले निर्वाचित सरकारलाई काम गर्न पर्याप्त समय दिनुपर्ने र सरकारले काम गर्न नसके वा गलत काम गरे आगामी निर्वाचनमार्फत जनताले त्यसको मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन्।

भट्टराईका अनुसार विगतमा पटक–पटक सरकार परिवर्तन हुँदा मुलुकले राजनीतिक अस्थिरता र आर्थिक चुनौतीको सामना गर्नुपरेको छ। पुनः त्यही प्रवृत्ति दोहोरिएमा अर्थतन्त्र, राजनीतिक स्थिरता र राष्ट्रिय हितमा नकारात्मक असर पर्न सक्ने उनले चेतावनी दिएका छन्।

 

उनले सरकार परिवर्तनको निरन्तर चर्चाले देशलाई अनिश्चिततातर्फ धकेल्ने, अर्थतन्त्र कमजोर बनाउने, युवालाई विदेश पलायन हुन बाध्य पार्ने र मुलुकको भूराजनीतिक जोखिम बढाउन सक्ने उल्लेख गरेका छन्।

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा, सहकार्य तथा संसद् र सडकबाट आलोचना हुनु स्वाभाविक भएको भट्टराईको भनाइ छ। सरकारका कामकारबाहीमाथि निरन्तर निगरानी र खबरदारी आवश्यक रहेको उनले बताएका छन्।

साथै, विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र कमजोर वर्गका नागरिकको आवाज सरकारले सुन्नुपर्नेमा उनले जोड दिएका छन्। सरकारले जनताको आवाज नसुने विधिसम्मत प्रक्रियाबाट जवाफदेही बनाउने वा पदबाट हटाउने व्यवस्था अपनाउनुपर्ने उनको धारणा छ।

सम्बन्धित समाचार