काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माबीच भेटवार्ता भएको छ। नियुक्तिलाई लिएर विभिन्न क्षेत्रबाट टिप्पणी भइरहेका बेला प्रधानमन्त्री शाहले आनीलाई विवादमा नअल्झी आफ्नो जिम्मेवारीमा केन्द्रित हुन आग्रह गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री शाहले आनीको क्षमता र अन्तर्राष्ट्रिय छवि लुम्बिनीको विकासका लागि महत्त्वपूर्ण हुने बताउँदै निर्धक्क भएर काम गर्न सुझाव दिएका थिए। उनले बाहिरी टीकाटिप्पणीबाट विचलित नभई आफ्नो जिम्मेवारी पूरा गर्न र सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएको बताइएको छ।
प्रधानमन्त्रीबाट आश्वासन पाएपछि आनी छोइङलाई आफ्नो जिम्मेवारी सम्हाल्न थप हौसला मिलेको स्रोतको भनाइ छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मालाई पाँच वर्षका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। लुम्बिनी विकास कोष ऐन, २०४२ बमोजिम भएको उक्त नियुक्तिलाई लिएर विभिन्न क्षेत्रबाट समर्थन र आलोचना दुवै प्रतिक्रिया सार्वजनिक भएका छन्।
बौद्ध भिक्षुणी तथा प्रसिद्ध गायिकाका रूपमा परिचित आनीको नियुक्तिपछि लुम्बिनीको प्रशासनिक व्यवस्थापन र विकास निर्माणका कामले गति लिने अपेक्षा गरिएको छ।
लुम्बिनी बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल तथा नेपालको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्र भएकाले यसको विकास, संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउनु नयाँ नेतृत्वका लागि प्रमुख चुनौतीका रूपमा रहनेछ।