कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन आग्रह

1k Shares

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आगामी कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश भूभागमा वर्षा, मेघगर्जन तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्न सक्ने भन्दै कृषक, पर्यटक तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार बिहीबारदेखि मौसममा उल्लेख्य परिवर्तन आउनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार र शनिबार पनि मौसम प्रतिकूल रहने

कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार देशका अधिकांश भूभागमा बादल लाग्ने तथा वर्षा हुने सम्भावना छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने अनुमान गरेको छ। यसले जनजीवन, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

धानबाली भित्र्याउन कृषकलाई आग्रह

धानबाली भित्र्याउने समयमै वर्षाको सम्भावना देखिएपछि कृषकलाई कृषि कार्यको व्यवस्थापन गर्न आग्रह गरिएको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले सम्भव भएसम्म बिहीबारअघि नै धानबाली भित्र्याउनेलगायतका महत्त्वपूर्ण कृषि कार्य सम्पन्न गर्न सुझाव दिइएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहिरोको जोखिम बढ्न सक्ने भएकाले पर्यटकलाई जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न तथा हिमाली क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने

मौसममा हुने परिवर्तनले चिसो बढाउनुका साथै पहिरो, सडक अवरोध तथा हवाई उडानमा असर पार्न सक्ने सम्भावना छ। त्यसैले यात्रामा निस्कनुअघि मौसमको पछिल्लो जानकारी लिन र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न महाशाखाले आग्रह गरेको छ।

सम्भावित वर्षा, हिमपात र अन्य मौसमी जोखिमलाई ध्यानमा राख्दै कृषक, पर्यटक, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी अपनाउन पनि अनुरोध गरिएको छ।864951522_29236348126007967_3396171553327187593_n_DAkD6zXmpG.jpg

सम्बन्धित समाचार