अर्थमन्त्री स्वर्णिम वाग्लिको अभिव्यक्तिले विवाद चर्कियो, प्रधानमन्त्रीको धारणा अझै अस्पष्ट

918 Shares

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चर्किएको छ। नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको भन्ने उनको अभिव्यक्तिपछि विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक मामिलाका जानकारहरूले प्रश्न उठाएका छन्। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को धारणा सार्वजनिक नभएको भन्दै सरकारको आधिकारिक दृष्टिकोणबारे पनि चासो बढेको छ।

 

अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको सम्बन्धबारे धारणा राख्दै नेपाली राष्ट्रवाद विगतमा भारतविरोधी भावनासँग जोडिने गरेको भए पनि अब त्यो समय समाप्त भएको बताएका थिए। उनको यही भनाइलाई लिएर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र छिमेकी मुलुकसँगको सम्बन्ध सञ्चालन गर्ने नीतिबारे बहस सुरु भएको हो।

विपक्षी दलका नेता तथा कूटनीतिक क्षेत्रका व्यक्तिहरूले राष्ट्रिय हितका विषयमा आवाज उठाउनुलाई भारतविरोधी भावनाका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन्। उनीहरूले सीमा विवाद, सीमावर्ती क्षेत्रमा हुने डुबान, व्यापारमा देखिने अवरोध र दुई देशबीचका असमान सन्धि–सम्झौताजस्ता विषयमा नेपालको हितअनुसार स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिएका छन्।

 

पूर्वपरराष्ट्रमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले पनि अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनीहरूका अनुसार भारतसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु र नेपालको राष्ट्रिय स्वार्थको रक्षा गर्नु एकअर्काका विरोधी विषय होइनन्। दुई देशबीचको सम्बन्ध समानता, पारस्परिक सम्मान र कूटनीतिक मर्यादाका आधारमा अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ।

यसैबीच, नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले अर्थमन्त्रीको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा सरकारको नेतृत्व तहबाट स्पष्ट जवाफ आउनुपर्ने बताएका छन्।

 

अर्थमन्त्रीको अभिव्यक्तिले सरकारको परराष्ट्र नीतिबारे थप प्रश्न उठाएको छ। विशेषगरी छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्ने क्रममा नेपालको राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमिकताको विषयलाई कसरी प्रस्तुत गरिन्छ भन्नेबारे राजनीतिक तथा कूटनीतिक वृत्तमा बहस भइरहेको छ।

नेपालको परराष्ट्र नीति पञ्चशील, असंलग्नता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित रहेकाले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरिने धारणामा पनि सन्तुलन र कूटनीतिक जिम्मेवारी आवश्यक हुने जानकारहरूको भनाइ छ।

सम्बन्धित समाचार