मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल भएको छ ।
पराजुलीको सचिवालयका अनुसार भेटमा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित र न्यायोचित कार्य वातावरण निर्माणका विषयमा विचार आदानप्रदान भएको थियो ।
दुई देशबीच श्रमसम्बन्धी विद्यमान व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आपसी सहकार्य थप विस्तार गर्ने विषयमा पनि छलफल भएको पराजुलीले बताएका छन् ।
नेपाल र मौरिससबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयले पनि भेटमा प्राथमिकता पाएको थियो ।
भेटमा श्रम सहकार्यका अतिरिक्त पर्यटन, संस्कृति तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ ।
नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन सहकार्यसँग जोडेर दुवै देशबीच पर्यटक आवागमन बढाउन सकिने विषयमा विचार आदानप्रदान गरिएको थियो ।
त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्दै धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको छ ।
दुई देशबीच श्रमिकको अधिकार संरक्षण र पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तार गर्ने विषयलाई यस भेटले महत्त्व दिएको छ ।