नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

869 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका नागरिकका समस्या, माग र जनसरोकारका विषय सङ्कलन गरी तिनको प्राथमिकीकरणसहित सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकको निर्णयअनुसार पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो।

पार्टीद्वारा जारी सर्कुलरअनुसार अभियानको पहिलो चरणमा प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी वा आधिकारिक निकायसमक्ष नागरिकका प्रमुख सरोकार समेटिएका मागपत्र र ज्ञापनपत्र बुझाइनेछ।

अभियानका क्रममा पार्टीका नेता तथा कार्यकर्ताले स्थानीय तहसम्म पुगेर नागरिकका समस्या, आवश्यकता र माग सङ्कलन गर्नेछन्। सङ्कलित विषयलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी सम्बन्धित निकायमार्फत समाधानका लागि पहल गरिने नेकपाले जनाएको छ।

त्यसैगरी, नागरिकका माग सम्बोधन गर्न सम्बन्धित तहबाट आवश्यक कार्यक्रम सञ्चालन गर्न दबाब दिने पनि पार्टीको योजना छ। अभियानमार्फत जनताका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि सरकारी निकायको ध्यानाकर्षण गराउने नेकपाले जनाएको छ।

सम्बन्धित समाचार