नेपाली संस्कृतिमा रमाए विदेशी पर्यटक, ठमेलमा टीका र जमरासँगै दसैँको रौनक

1.1k Shares

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँले विदेशी पर्यटकलाई समेत आकर्षित गरेको छ। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले काठमाडौँको ठमेलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासका साथ दसैँ मनाएका छन्।

ठमेलस्थित काठमाडौँ इको होटलमा आयोजित कार्यक्रममा विदेशी पर्यटकले नेपाली संस्कारअनुसार टीका र जमरा लगाएर दसैँको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वलाई नजिकबाट अनुभव गर्ने अवसरका रूपमा उनीहरूले यस पर्वलाई लिएका छन्।

नेपाल भ्रमणमा आएका पर्यटकका लागि दसैँको टीका र जमरा ग्रहण गर्नु नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराबारे बुझ्ने विशेष अवसर बनेको छ। पछिल्लो समय नेपालको प्राकृतिक सौन्दर्यसँगै धार्मिक, सांस्कृतिक र परम्परागत गतिविधिप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ। यसले उनीहरूलाई नेपाली समाज र जीवनशैलीसँग नजिकबाट परिचित गराउन सहयोग पुर्‍याएको छ।

सांस्कृतिक पहिचान प्रवर्द्धनमा सहयोग

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं काठमाडौँ इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले विदेशी पर्यटकलाई नेपाली चाडपर्वमा सहभागी गराउने गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचान अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।

उनका अनुसार यस्ता गतिविधिले पर्यटकलाई नेपाल भ्रमणका क्रममा नयाँ सांस्कृतिक अनुभव प्रदान गर्नुका साथै नेपाली परम्पराको महत्त्व बुझ्ने अवसर दिन्छन्।

त्यस्तै, ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैँले नेपाली र विदेशीबीच आपसी सद्भाव, मित्रता तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।

संस्कृति र पर्यटनलाई जोड्ने पर्व

दसैँ नेपाली समाजमा पारिवारिक पुनर्मिलन, आशीर्वाद र आपसी सद्भावको प्रतीकका रूपमा मनाइन्छ। विदेशी पर्यटकले समेत टीका र जमरा ग्रहण गरेर पर्वमा सहभागिता जनाउँदा नेपाली संस्कृति अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अवसर थपिएको छ।

नेपालको मौलिक संस्कृति, परम्परा र अतिथि सत्कारलाई पर्यटनसँग जोडेर प्रस्तुत गर्न सके यस्ता गतिविधिले पर्यटकको अनुभवलाई थप अर्थपूर्ण बनाउन सक्ने अपेक्षा गरिएको छ। ठमेलमा विदेशी पर्यटकले दसैँ मनाएको यस गतिविधिले नेपाललाई प्राकृतिक गन्तव्यका रूपमा मात्र नभई समृद्ध सांस्कृतिक पहिचान भएको देशका रूपमा चिनाउन सहयोग पुर्‍याएको छ।

सम्बन्धित समाचार