देशभर बडादसैँको टीका लगाउन सुरु, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

1.1k Shares

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमीका अवसरमा आज बिहानदेखि देशभर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको बिहान १०ः२६ बजेको शुभसाइतमा टीका लगाउन सुरु गरिएको हो। दुर्गापक्षको मुख्य दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ।

समितिका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन शुभसाइत नै कुर्नुपर्ने बाध्यता छैन। बिहानदेखि दिनभर आफ्नो अनुकूल समयमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सकिने बताइएको छ।

शुभसाइतमा टीका लगाउन टाढा जानुपर्ने कतिपय नागरिकले भने बिहानैदेखि टीका लगाउन सुरु गरेका थिए। घरपरिवार तथा आफन्तसँग भेला भएर टीका लगाउने, आशीर्वाद लिने र दसैँको खुसी साटासाट गर्ने क्रम जारी छ।

बिहान ८ः४९ बजे दुर्गा विसर्जन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाका दिन स्थापना गरी पूजा आराधना गरिएको देवी विसर्जनको साइत आज बिहान ८ः४९ बजे निर्धारण गरेको थियो।

दसैँमा पूर्ण कलशको जलबाट अभिषेक गरी त्यसपछि मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्ने धार्मिक प्रचलन छ। धार्मिक मान्यताअनुसार यसरी अभिषेक गर्दा वर्षभर शान्ति र कल्याण प्राप्त हुने विश्वास गरिन्छ।

टीकापछि काठमाडौँ छाड्ने क्रम

बडादसैँको टीका लगाएपछि कतिपय सर्वसाधारण आफन्तसँग भेटघाट गर्न तथा गाउँघर फर्किन काठमाडौँबाट बाहिरिन थालेका छन्। टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन पनि फाट्टफुट्ट सञ्चालन भइरहेका छन्।

दसैँको मुख्य दिन आज भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने प्रचलन छ। यस अवधिमा आफन्त तथा परिवारका सदस्यबीच भेटघाट, शुभकामना आदानप्रदान र आशीर्वाद लिने क्रम जारी रहनेछ।

बडादसैँले परिवार तथा आफन्तलाई एकै ठाउँमा जोड्ने र आपसी सद्भाव, प्रेम तथा एकताको भावना बलियो बनाउने सांस्कृतिक महत्त्व बोकेको छ।

सम्बन्धित समाचार