विपत्तिका कारण पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

645 Shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै यस वर्षको बडादसैँ सादगीपूर्ण रूपमा मनाउने भएका छन्। उनले यस वर्ष सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नराख्ने भएका हुन्।

निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने सयौँको दुःखद निधन भएको छ। विपत्तिबाट ठूलो जनधनको अपूरणीय क्षति भएकामा पूर्वराजा शाहले दुःख व्यक्त गरेका छन्।

देशमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादा कायम राखी यस वर्षको बडादसैँ सादगीपूर्ण रूपमा मनाउने निर्णय गरिएको सचिवालयले जनाएको छ।

विपत्तिबाट प्रभावित नागरिकप्रति संवेदना व्यक्त गर्दै पूर्वराजाले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका लगाउने परम्परागत कार्यक्रम स्थगित गरेका हुन्।

सम्बन्धित समाचार