नवरात्रको रौनकले देशभरका देवीमन्दिरमा बढ्यो चहलपहल

652 Shares

काठमाडौं । नवरात्रको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवीमन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ। तिथि वृद्धि भएका कारण आज महाअष्टमीसमेत मनाइँदै गर्दा श्रद्धालुहरू देवीको दर्शन तथा पूजाआराधनाका लागि विभिन्न शक्तिपीठमा पुगेका हुन्।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी र टोखा चण्डेश्वरीलगायतका देवीस्थानमा दर्शनार्थीको ठूलो भीड लागेको छ।

भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजाआजा गर्ने व्यवस्था मिलाउन शक्तिपीठहरूलाई ध्वजापताका र बत्तीले सजाइएको छ। नवरात्रको धार्मिक महत्त्वका कारण बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ।

उपत्यकाको दक्षिणकाली मन्दिरसहित देशका विभिन्न भागमा रहेका प्रसिद्ध धार्मिक स्थलमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी र काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा श्रद्धालुहरू पूजाआराधनाका लागि पुगेका छन्।

त्यसैगरी, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता तथा राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली र बाराको गढीमाई मन्दिरमा पनि बिहानैदेखि भक्तजनले लाइन बसेर पूजापाठ गरिरहेका छन्।

शारदीय नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गर्ने धार्मिक परम्परा छ। देवीको आराधना गर्नाले मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने जनविश्वास रहिआएको छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा हुने पूजाआराधनाले नेपाली समाजको धार्मिक तथा सांस्कृतिक परम्परालाई थप जीवन्त बनाएको छ।

सम्बन्धित समाचार