महानवमीमा नवदुर्गा भवानीको पूजाआराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

701 Shares

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँको नवौँ दिन आज आश्विन शुक्ल नवमी अर्थात् महानवमीका अवसरमा देशभरका देवीमन्दिर, शक्तिपीठ तथा दसैँघरमा नवदुर्गा भवानीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

महानवमीका दिन देवी सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन घरघरमा स्थापना गरिएका दसैँघर, देशभरका देवीमन्दिर तथा कोटघरमा विशेष पूजाआजा गरिन्छ। शक्तिपीठहरूमा दुर्गति नाश र शक्ति प्राप्तिको कामनासहित बलिपूजा तथा सात्विक पूजा गर्ने चलन छ।

धार्मिक मान्यताअनुसार माता महागौरीलाई सत्य, पवित्रता र सांस्कृतिक शुद्धिको प्रतीकका रूपमा लिइन्छ। सेतो साँढेमाथि विराजमान र सेतो वस्त्र धारण गरेकी महागौरीले भक्तजनलाई आशीर्वाद दिने विश्वास गरिन्छ। उनलाई माता पार्वतीको कोमल तथा शान्त स्वरूपका रूपमा समेत चित्रण गरिएको छ।

महानवमीका दिन नौ कन्यालाई नवदुर्गाका विभिन्न स्वरूपका प्रतीक मानेर पूजा गर्ने परम्परा पनि छ। कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राका रूपमा कन्याको पूजा गरी भोजन तथा दक्षिणा दिने चलन रहेको छ।

यस दिन शक्तिपीठहरूमा विधिपूर्वक बलि दिने परम्परा छ। कतिपय मन्दिरमा राँगा, बोका, भेडा, कुखुरा तथा हाँसको भालेको पञ्चबलि दिइन्छ भने सात्विक पूजा गर्नेहरूले कुभिण्डो, केरा, काँक्रोलगायतका फलफूल तथा वस्तु चढाउने गर्छन्।

राज्यशक्ति र राष्ट्रको कल्याणका लागि समेत देवीको आराधना गर्ने परम्परा रहिआएको छ। महानवमीका अवसरमा काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको विशेष पूजा गरिन्छ। उक्त मन्दिर वर्षमा एक पटक महानवमीका दिन सर्वसाधारणका लागि खुला गरिने परम्परा छ।

काठमाडौं उपत्यकामा गुह्येश्वरी, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती र दक्षिणकालीलगायतका शक्तिपीठमा भक्तजनले पूजाआराधना गरिरहेका छन्। तलेजु भवानी, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी तथा बंगलामुखीलगायतका मन्दिरमा पनि विशेष पूजा गरिन्छ।

त्यसैगरी, देशका विभिन्न भागमा रहेका पाथीभरा, दन्तकाली, सिद्धकाली, छिन्ताङ भगवती, कंकालिनी, सखडा भगवती, कालिञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङ कालिका, मौलाकालिका, छिम्केश्वरी, विन्ध्यवासिनी, बागलुङ कालिका, त्रिपुरासुन्दरी, बागीश्वरी, शैलेश्वरी तथा उग्रतारालगायतका देवीमन्दिर र शक्तिपीठमा पनि आद्यशक्ति भगवतीको पूजा आराधना गरिँदैछ।

महानवमीलाई शक्ति उपासनाको महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस दिनमा देवीको आराधना, कन्यापूजा र परम्परागत अनुष्ठानमार्फत सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्ने गरिन्छ।

सम्बन्धित समाचार