काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु फुटाउने क्रममा विस्फोट हुँदा दुई दाजुभाइ घाइते भएका छन्।
सोमबार (कात्तिक २) दिउँसो करिब १:३० बजे काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका छोराहरू २६ वर्षीय जंगे परियार तथा २४ वर्षीय रामचन्द्र परियारले नदी किनारमा शंकास्पद वस्तु फेला पारेका थिए।
उनीहरू उक्त वस्तु ज्यामिरेघाटस्थित आफूहरू भाडामा बस्दै आएको कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटबाट निस्किएका छर्राले लाग्दा जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ।
नदी किनारमा फेला परेको उक्त शंकास्पद वस्तु के थियो भन्नेबारे स्पष्ट भइसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सावधानी: नदी किनार वा अन्य स्थानमा शंकास्पद वस्तु फेला परेमा नछुने, नचलाउने र नफुटाउने तथा तत्काल प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ।