ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। देश शोकमा रहेकाले यस वर्ष कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार कात्तिक १ गते प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने जानकारी दिएका हुन्।
नेपाली कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो। पार्टीका संस्थापक नेता बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि उक्त कार्यक्रम सुरु गरेका थिए।
राजनीतिक दलका नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वबीच आपसी सद्भाव र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको कांग्रेसको चियापान कार्यक्रम यस वर्ष भने नहुने भएको छ।