प्रचण्डको टिप्पणी : ‘बालेन्द्र शाहको हातमा धेरै अधिकार छ जस्तो लाग्दैन’

1.1k Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको हातमा धेरै अधिकार नरहेको टिप्पणी गरेका छन्। उनले देशको वास्तविक शक्ति नवऔपनिवेशिक शक्ति, दलाल पुँजीपति र उच्च तहका अधिकारीहरूको हातमा रहेको आशय व्यक्त गरेका छन्।

प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रस्तोता ऋषि थपलियासँग शुक्रबार भएको अन्तर्वार्तामा प्रचण्डले यस्तो बताएका हुन्।

‘बालेन्द्र शाह पनि भन्दिनँ म । बालेन्द्र शाहको हातमा पनि धेरै चिज केही छ जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने।

अन्तर्वार्ताका क्रममा प्रस्तोता थपलियाले प्रधानमन्त्री शाहलाई १८३ सिटको समर्थन रहेको भन्दै प्रतिप्रश्न गरेका थिए। त्यसको जवाफमा प्रचण्डले उक्त सिट कसरी प्राप्त भयो भन्ने विषयको हिसाब इतिहासले गर्ने बताए।

‘१८३ सिट कहाँबाट, कसरी आयो, त्यो पनि हिसाब त भोलि इतिहासले गर्ला नै । अहिले त्यसमा म धेरै भन्न चाहन्नँ,’ उनले भने।

प्रचण्डले प्रधानमन्त्री शाह सफल होऊन् र राम्रो काम गरून् भन्ने आफ्नो चाहना रहेको पनि स्पष्ट पारे। ‘मैले भनेँ, बालेन शाह सफल हुनुहोस्, राम्रो गर्नुहोस् भनिराखेकै हो सुरुदेखि,’ उनले भने।

त्यसपछि प्रस्तोता थपलियाले देश कसको हातमा गइरहेको छ भन्दै प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले देशको शक्ति नवऔपनिवेशिक शक्ति, दलाल पुँजीपति तथा उच्च तहमा रहेका अधिकारीहरूको प्रभावमा रहेको आशय व्यक्त गरे।

‘मैले धेरै गहिरोगरी भनिसकेँ । एकथरी त्यसलाई नवऔपनिवेशिक शक्ति भन्नुहोस् या एकथरी दलाल पुँजीपतिहरू भन्नुस्, ठूला–ठूला अफिसरहरू पावरमा भएका, चाहे त्यो ब्युरोक्रेसीमा होस्, चाहे सेनामा होस्,’ उनले भने।

प्रहरीको भूमिकाबारे भने प्रचण्डले थप टिप्पणी गर्न चाहेनन्। ‘विचरा पुलिसलाई धेरै भन्नु छैन, केही छैन अहिले,’ उनले बताए।

प्रचण्डको यस अभिव्यक्तिले प्रधानमन्त्री शाहसँग रहेको संसदीय समर्थन र देशको वास्तविक शक्ति संरचनाबारे राजनीतिक बहसलाई थप चासोपूर्ण बनाएको छ। यद्यपि, देशको शक्ति संरचनाबारे उनले गरेका टिप्पणी आफ्नो राजनीतिक विश्लेषणका रूपमा आएका हुन्।

सम्बन्धित समाचार