महाधिवेशनमा क्षति पुगेको खुलामञ्चको दुबो कांग्रेसले आफ्नै खर्चमा पुनःरोप्ने

2.2k Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेको दुबो पुनःरोप्ने, स्याहार गर्ने र संरक्षण गर्ने भएको छ । यसका लागि कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार खुलामञ्चमा क्षति पुगेका स्थानमा नयाँ दुबो रोपिनेछ । रोपिएको दुबोको उचित स्याहार, संरक्षण तथा हुर्काउने जिम्मेवारीसमेत सम्झौताअन्तर्गत पूरा गरिनेछ ।

उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेसले व्यहोर्ने सहमति भएको छ । सम्झौताको अवधि डेढ महिना तोकिएको छ । यस अवधिमा क्षतिग्रस्त क्षेत्रमा दुबो पुनःरोपण गरी त्यसको संरक्षण र स्याहारमा ध्यान दिइने जनाइएको छ ।

सम्झौतापत्रमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा कांग्रेस नेता विश्वप्रकाश शर्मा, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म सञ्चालन भएको थियो । महाधिवेशनका क्रममा खुलामञ्चमा दुबोमा क्षति पुगेपछि त्यसको पुनःस्थापना र संरक्षणको विषय उठेको थियो ।

सम्झौतामार्फत खुलामञ्चको क्षतिग्रस्त क्षेत्रमा दुबो पुनःरोपण गरी हरियाली पुनःस्थापना गर्ने कार्य अघि बढाइनेछ । सार्वजनिक स्थलको संरक्षण र सौन्दर्य कायम राख्ने उद्देश्यले अघि बढाइएको यस कार्यमा दुबोको उचित स्याहार तथा संरक्षणलाई समेत प्राथमिकता दिइने जनाइएको छ ।

सम्बन्धित समाचार