औषधि अभाव हुने हल्ला भ्रामक, नियमित औषधि सेवन गर्न विभागको आग्रह

2.2k Shares

काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बिक्रीवितरण तथा प्रयोगमा कुनै प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ। शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वा दबाउने यस्ता औषधिको अभाव हुने र बजारमा उपलब्ध औषधिको बिक्री बन्द गरिएको भन्ने समाचार भ्रामक रहेको विभागले जनाएको छ।

विभागले विज्ञप्ति जारी गर्दै बिरामीलाई चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गरेको छ। विशेषगरी अंग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोग भएका बिरामीले प्रयोग गर्ने औषधिको आपूर्ति प्रभावित हुन नदिन विभाग प्रतिबद्ध रहेको जनाएको छ।

विभागका अनुसार निर्धारित समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा तोकिएको मापदण्ड पूरा नगरेका ४७ किसिमका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको हो। ती औषधिका दर्ता प्रमाणपत्रसमेत खारेज हुने भए पनि यसअघि नै बजारमा आइसकेका वा बिक्रीवितरणमा रहेका औषधिको बिक्री र प्रयोगमा भने रोक नलगाइएको विभागले स्पष्ट पारेको छ।

औषधिको गुणस्तर र सुरक्षामा जोड

विभागले औषधिको गुणस्तर तथा सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको जनाएको छ। एउटा औषधिको अवशेष वा प्रभाव अर्को औषधिमा सर्न सक्ने जोखिम अर्थात् क्रस-कन्टामिनेसन न्यूनीकरण गर्नु यसको प्रमुख उद्देश्य रहेको विभागको भनाइ छ।

यसका लागि विश्व स्वास्थ्य संगठनको प्राविधिक मापदण्डअनुसार जोखिम व्यवस्थापन, सफाइ प्रमाणीकरण, छुट्टै हावा आवतजावत प्रणाली तथा स्वास्थ्यमा आधारित जोखिम सीमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। जोखिमको प्रकृतिअनुसार सम्बन्धित औषधि छुट्टै उत्पादन सुविधामा उत्पादन गर्नुपर्ने प्रावधानसमेत लागू गरिएको विभागले जनाएको छ।

केही उद्योगलाई तीन महिनासम्म उत्पादन र आयातको अनुमति

विभागका अनुसार जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका उद्योग तथा आयातकर्तालाई बजारमा औषधिको आपूर्ति सन्तुलित राख्न बढीमा तीन महिनासम्म उत्पादन तथा आयात गर्न अनुमति दिइएको छ। सोहीअनुसार आवश्यक प्रमाणपत्र नवीकरण गरिएको विभागले जनाएको छ।

औषधिको उपलब्धतामा समस्या आउन नदिन नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि आयातकर्ता संघ तथा नेपाल औषधि व्यवसायी संघसँग समन्वय भइरहेको पनि विभागले जनाएको छ।

विभागले बिरामीलाई औषधिसम्बन्धी अपुष्ट समाचारका आधारमा नियमित उपचार नरोक्न र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार