कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधि देउवा समूहको महाधिवेशन प्रतिनिधि बन्ने

841 Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।

देउवा समूहले आगामी १५औँ महाधिवेशनका लागि स्थानीय तह, प्रदेशसभा तथा संघीय संसद्मा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो। यसमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य समेटिएका छन्।

देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन्। पत्रमा सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित भई हाल पदमा कार्यरत जनप्रतिनिधिलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै प्रक्रिया अघि बढाइरहेका बेला यो निर्णय गरेको हो। यस समूहले वडा, स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

यद्यपि, समूहको अधिवेशन प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढ्न सकेको छैन। विभिन्न तहका अधिवेशन बाँकी रहेकाले केन्द्रीय महाधिवेशनको तयारीसँगै प्रतिनिधि छनोटको प्रक्रिया पनि अघि बढिरहेको छ।

यसअघि गगन थापा नेतृत्वको कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिसकेको छ। देउवा समूहले भने छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउँदै आएको छ।

842254362_1120378497396170_6839761658547276185_n-1792053335.jpg

सम्बन्धित समाचार