काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्ताका क्रममा मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकोमा लिस्टयोवतीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, दुई देशबीचको आपसी सहयोगलाई विस्तार तथा सुदृढ बनाउने सम्भावनाबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल र इन्डोनेसियाबीचको कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै पारस्परिक हित र सहयोगका क्षेत्रलाई अघि बढाउने विषयमा भेटवार्ता केन्द्रित रहेको मन्त्रालयले जनाएको छ।