साउदी अरबको लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनार अस्विकृत

974 Shares

काठमाडौं । साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत भएको छ ।

संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिबाट आज उनको नाम अस्वीकृत भएको हो ।

सांसदहरुले सुनारमाथि महिला हिंसासहितका गम्भीर आरोप लागेको भन्दै सुनुवाइको क्रममा नाम फिर्ता लिन आग्रह गरेका थिए । संसदीय सुनुवाइ समितिबाट साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि विभिन्न गम्भीर आरोपहरू उठाइएको थियो ।  

घरेलु हिंसा तथा व्यक्तिगत विवाद: एक महिलासँगको सम्बन्ध र विवादलाई लिएर घरेलु हिंसा गरेको, ललितपुर प्रहरी कार्यालयमा उजुरी परेको र दुई पक्षबीच मेलमिलाप भएको तथा त्यसपछि पनि मानसिक यातना दिएको दाबीसहितको उजुरी।

ठगी तथा आर्थिक अनियमितताका आरोप:  दलित अभियन्ताका नाममा विभिन्न संघसंस्थाबाट करोडौँ रकम असुलेको। नेपाल प्रहरीका डीआईजीलाई एआईजी बनाइदिने भन्दै र अन्य व्यक्तिलाई सांसद बनाउने प्रलोभन देखाएर आर्थिक लेनदेन तथा ठगी गरेको।

जर्मनीबाट डिपोर्ट भएको विषय: विगतमा जर्मनी भ्रमणका क्रममा त्यहाँको सरकारले नियन्त्रणमा लिई हत्कडी लगाएर नेपाल डिपोर्ट (देश निकाला) गरेको भन्ने गम्भीर प्रश्न।

राजनीतिक आबद्धता: कूटनीतिक मर्यादाविपरीत 'हाम्रो नेपाल पार्टी' नामक राजनीतिक दलको केन्द्रीय सदस्यका रूपमा आबद्ध रहेको जस्ता अाराेप लागेकाे थियाे । 

प्रस्तावित राजदूत सुनारको स्पष्टीकरण भने देखिएकाे थियाे । सुनुवाइका क्रममा गिरीबहादुर सुनारले यी तमाम आरोपहरूलाई पूर्ण रूपमा खण्डन गरेका थिए। उनले १३ वर्ष पुरानो व्यक्तिगत विषयलाई अतिरञ्जित बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको, आफूविरुद्ध प्रहरी वा अदालतमा कुनै पनि सजाय वा चलिरहेको फौजदारी मुद्दा नरहेको तथा ओशो तपोवनसम्बन्धी विवादका कारण प्रतिशोध साध्न यस्ता उजुरीहरू हालिएको स्पष्टीकरण दिएका थिए।  

तर, समितिमा उठेका यिनै गम्भीर प्रश्न र विवादहरूका कारण अन्ततः उनको नाम राजदूत पदका लागि अस्वीकृत भएको हो।

सम्बन्धित समाचार