काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।
चीनमा आयोजित सन् २०२६ को ‘लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेस’ मा नेपालको प्रतिनिधित्व गर्दै पराजुलीले उद्योग, शिक्षा र प्रविधिको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न साझा प्रयास आवश्यक रहेको धारणा राखेका हुन्।
‘दिगो भविष्यका लागि गुणात्मक वृद्धिमा साझेदारी’ भन्ने नाराका साथ चिनियाँ जनताको वैदेशिक मैत्री संघले आयोजना गरेको उक्त कार्यक्रममा ५२ देशका सभामुख, उपसभामुख, मन्त्री तथा सांसदसहित ६६ जनाभन्दा बढी कानुन निर्माता सहभागी थिए। कार्यक्रममा पराजुलीले ‘उद्योग, शिक्षा र नयाँ गुणात्मक उत्पादक शक्ति’ विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गरेका थिए।
हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापतिसमेत रहेका पराजुलीले हिमनदी पग्लिने, बाढी आउने र पहिरो जानेजस्ता जलवायुजन्य विपद्का असर कुनै एउटा देशको सीमामा मात्र सीमित नहुने बताए।
हिमालय संरक्षण, प्रभावकारी विपद् पूर्वसूचना प्रणालीको विकास तथा जलवायु उत्थानशीलता बढाउन विश्वव्यापी ऐक्यबद्धता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
नेपालको आर्थिक रूपान्तरणका लागि शिक्षा र उद्योगबीचको दूरी अन्त्य गर्दै व्यावहारिक सीप विकास, अनुसन्धान, नवप्रवर्तन तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने पराजुलीले बताए। शैक्षिक संस्थालाई उद्योगको आवश्यकतासँग जोड्न सके युवाका लागि स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उनको धारणा थियो।
त्यस्तै, नेपाली हस्तकला, कृषि उत्पादन र जडीबुटीलाई आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात प्रवर्द्धन र आर्थिक विकासमा योगदान पुग्ने उनले उल्लेख गरे।
पराजुलीले नेपाल र चीनबीच सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डिजिटल सीप, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए।
चीनको औद्योगिक तथा प्राविधिक अनुभवलाई नेपालको युवा जनशक्ति र उद्यमशीलतासँग जोड्न सके रोजगारी सिर्जना तथा दिगो आर्थिक विकासका नयाँ अवसर खुल्ने उनको विश्वास छ।
नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई शिक्षा, प्रविधि, लगानी र युवा जनशक्ति विकासमा केन्द्रित व्यावहारिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले साझा प्रयासबाट दिगो विकास र पारस्परिक समृद्धि हासिल गर्न सकिने बताए।
पराजुलीको सचिवालयका अनुसार उनी कार्यक्रम सम्पन्न गरी बिहीबार नेपाल फर्कने कार्यक्रम रहेको छ।