काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरेको छ। आयोगले घटनालाई गम्भीर र संवेदनशील रूपमा लिँदै सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा विभिन्न प्रश्न उठेपछि रास्वपाले आन्तरिक छानबिन अघि बढाएको हो। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद सुनारमाथि उठेका आरोपलाई सामान्य रूपमा लिन नसकिने बताएका छन्।
सञ्चारमाध्यममा सार्वजनिक विवरणमा महिलाको मर्यादामाथि आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक कारोबारसम्बन्धी आरोप लगाइएको छ। यद्यपि, यी आरोपको अन्तिम सत्यतथ्य छानबिन र अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
सांसद सुनारमाथि उठेका प्रश्नबारे रास्वपा केन्द्रीय अनुशासन आयोगले उनीसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ। आयोगले सार्वजनिक भएका विषयमा आफ्नो धारणा र जवाफ पेस गर्न पत्र पठाएको हो।
आयोगका एक सदस्यका अनुसार सुनारको स्पष्टीकरण प्राप्त भएपछि त्यसका आधारमा थप प्रक्रिया अघि बढाइनेछ। पार्टीले आन्तरिक छानबिनलाई निष्पक्ष रूपमा अघि बढाउने जनाएको छ।
यसअघि रास्वपाले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।
महामन्त्री आचार्यले कानुनको शासन, सुशासन र सार्वजनिक जवाफदेहिताप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्ना कुनै पनि सदस्य वा जनप्रतिनिधिमाथि गम्भीर प्रकृतिका आरोप लागेमा त्यसलाई बेवास्ता गर्न नसकिने बताएका छन्।
पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिएको हो। साथै, सम्बन्धित राज्य निकायबाट हुने स्वतन्त्र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
रास्वपाले आन्तरिक छानबिन र राज्यका निकायबाट हुने अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप निर्णय लिने जनाएको छ।
‘कानुनभन्दा माथि कोही हुँदैन’ भन्ने मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने उसको भनाइ छ।
सांसद सुनारमाथि उठेका आरोपको निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक गर्नुपर्ने माग बढिरहेका बेला अब उनको स्पष्टीकरण र अनुसन्धानको निष्कर्षलाई चासोका साथ हेरिएको छ।