काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० मा अवस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि विद्यालय परिसरमै कुटपिट तथा दुर्व्यवहार भएको घटनाप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बूढानीलकण्ठले गम्भीर आपत्ति जनाएको छ।
प्याब्सन बूढानीलकण्ठले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ। विद्यालय शान्ति, अनुशासन, समता र असल संस्कार सिकाउने पवित्र स्थल भएको उल्लेख गर्दै संगठनले प्रधानाध्यापक तथा शिक्षकहरूमाथि हुने कुनै पनि प्रकारका हातपात, धम्की, दुर्व्यवहार र अमर्यादित व्यवहारले समग्र शैक्षिक क्षेत्रको गरिमा तथा शिक्षकहरूको पेसागत सुरक्षामाथि गम्भीर प्रश्न खडा गर्ने जनाएको छ।
विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
विद्यालय तथा शिक्षकहरूको सुरक्षा सुनिश्चित गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा संस्थागत व्यवस्था मिलाउन पनि प्याब्सनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
शिक्षक तथा प्रधानाध्यापकको सम्मान, सुरक्षा र मर्यादा कायम गर्नु सम्पूर्ण शैक्षिक समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्याब्सनले समस्या वा असहमति उत्पन्न भएमा संवाद, छलफल र कानुनी प्रक्रियामार्फत समाधान खोज्न आग्रह गरेको छ।
त्यसैगरी, घटनाबाट प्रभावित प्रधानाध्यापक विनोद पण्डितप्रति ऐक्यबद्धता व्यक्त गर्दै संगठनले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्याब्सन बूढानीलकण्ठ परिवारले जारी गरेको विज्ञप्तिमा विद्यालयलाई सुरक्षित र मर्यादित शैक्षिक वातावरणका रूपमा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।