काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र गतिमा अघि बढाइएको छ। बडादसैँलाई ध्यानमा राख्दै निर्वाचन समितिले मतगणना छिटो सम्पन्न गर्न २५ वटा टोली परिचालन गरेको जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न पद र समावेशी समूह (क्लस्टर) अन्तर्गतको मतगणना एकैसाथ भइरहेको छ। मतगणना व्यवस्थित र मर्यादित रूपमा अघि बढाइएको उनले जानकारी दिए।
उनका अनुसार दुई क्लस्टरको मतगणना सम्पन्न भइसकेको छ भने चार क्लस्टरको गणना जारी छ। बाँकी छ क्लस्टरको मतगणना पनि क्रमशः सुरु गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिका अनुसार जनसम्पर्कतर्फ दुई महिला र पाँच खुलासहित सात केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। त्यसैगरी, पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि सकिएको छ।
हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। आदिवासी जनजातितर्फ सहमहामन्त्री तथा केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशबाट खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना पनि जारी छ।
यसैगरी, दलिततर्फ सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य; अल्पसंख्यक तथा अपाङ्गतातर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य; मधेसीतर्फ सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
खस–आर्यतर्फ सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य र पेशागततर्फ खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना पनि सुरु गर्ने तयारी निर्वाचन समितिको छ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा खुलातर्फका ४५ जना केन्द्रीय सदस्यको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ। कांग्रेसको मिडिया सेन्टरका अनुसार उक्त पदको मतगणना पनि सुरु गर्ने तयारी भइरहेको छ।
एकैपटक २५ वटा टोली परिचालन गरिएकाले मतगणनाले गति लिएको निर्वाचन समितिको भनाइ छ। समितिले बुधबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ।
मतगणना स्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको छ। सबै पदको मतगणना सम्पन्न भएपछि कांग्रेसले नयाँ केन्द्रीय कार्यसमिति प्राप्त गर्नेछ।