नुवाकोट । रसुवा–भोटेकोशी बाढीबाट घरबारविहीन भएका नुवाकोटका विस्थापित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गरिने भएको छ। बेलकोटगढी नगरपालिका–७, रातमाटेका बाढीपीडितका लागि निर्माण गरिएका आवासमध्ये पूर्ण रूपमा तयार भएका २० वटा घर आज पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तान्तरण गर्ने कार्यक्रम छ।
अस्थायी आवास हस्तान्तरणका लागि प्रचण्ड नुवाकोट पुगिसकेका छन्। वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीका अनुसार बाढीबाट विस्थापित परिवारलाई पुनः बसोबासको व्यवस्था मिलाउन स्वयंसेवकहरू दैनिक १२ घण्टासम्म खटिएका छन्।
ओलीका अनुसार हाल डेढ सय अस्थायी आवास निर्माणको अन्तिम चरणमा छन्। तीमध्ये पूर्ण रूपमा तयार भएका २० वटा घर आजै बाढीपीडित परिवारलाई बसोबासका लागि हस्तान्तरण गरिनेछ।
अस्थायी आवासलाई बस्न योग्य बनाउन खानेपानी, शौचालय, बिछ्यौना, खाद्यान्न तथा भान्सामा आवश्यक सामग्रीसमेत व्यवस्था गरिएको ओलीले जानकारी दिए। विपद्बाट घरबार गुमाएका परिवारलाई तत्काल सुरक्षित बास उपलब्ध गराउने उद्देश्यले आवास निर्माण गरिएको उनको भनाइ छ।
वाईसीएलले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई निरन्तरता दिँदै आएको जनाएको छ। केन्द्रीय उपाध्यक्ष हरि ढकालका अनुसार केन्द्र, प्रदेश र जिल्ला तहबाट हालसम्म नुवाकोटमा करिब ६ सय नेता तथा कार्यकर्ता परिचालित भएका छन्।
वाईसीएल नुवाकोटका जिल्ला अध्यक्ष जलन गजुरेलका अनुसार उद्धार र राहतसँगै बाढीले पुरेका धनमाल उत्खनन गरी सम्बन्धित घरधनीलाई फिर्ता गर्ने, बाढीले बगाएका शव खोज्ने तथा व्यवस्थापन गर्ने, रक्तदानमार्फत रगतको अभाव पूरा गर्ने र होल्डिङ सेन्टरमा बसेकाहरूलाई खानपिनको व्यवस्था गर्ने कामसमेत गरिएको छ।
गजुरेलले अब विस्थापित परिवारको पुनर्स्थापना मुख्य प्राथमिकता रहेको बताए। उनका अनुसार बेलकोटगढी नगरपालिकाका सम्पूर्ण विस्थापित परिवारलाई आवश्यक सामग्रीसहित सुरक्षित आवासको व्यवस्था गर्ने लक्ष्यसहित काम भइरहेको छ।
‘अब विस्थापितहरूलाई पुनर्स्थापना गर्ने मुख्य काम हो,’ उनले भने, ‘केही समयभित्रै बेलकोटगढी नगरपालिकाका सम्पूर्ण विस्थापितलाई अत्यावश्यक सबै सामग्रीसहित बासको सुनिश्चितता गर्ने लक्ष्यमा लागेका छौँ।’
भदौ १० गते चीनको तिब्बत क्षेत्रमा आएको विनाशकारी बाढी भोटेकोशी हुँदै नेपाल प्रवेश गर्दा रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीले मानवीय क्षतिका साथै सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा समेत असर पुर्याएको थियो।
विपद्पछि भदौ ११ गतेदेखि नै वाईसीएलका टोली उद्धार, राहत वितरण तथा अस्थायी आवास निर्माणमा खटिएको जनाइएको छ।
तत्कालीन राहतसँगै विस्थापित परिवारलाई सुरक्षित आवास, आधारभूत सुविधा र नियमित जीवनयापनको व्यवस्था मिलाउनु अहिलेको प्रमुख चुनौती बनेको छ। वाईसीएलले अस्थायी आवास हस्तान्तरणसँगै बाँकी घर निर्माण र प्रभावित परिवारको पुनर्स्थापनालाई अघि बढाउने जनाएको छ।