डिजिटल कारोबारकै आधारमा १० लाखसम्म कर्जा, कसरी दिने आवेदन?

1.3k Shares

नयाँ व्यवस्थाअनुसार व्यवसायीले आफ्नो डिजिटल कारोबार र व्यावसायिक विवरणका आधारमा कर्जाका लागि आवेदन दिन सक्नेछन् । यसबाट साना व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक चालु पुँजी जुटाउन सहज हुने अपेक्षा गरिएको छ ।

कसरी आवेदन दिने ?

डिजिटल कर्जाका लागि सामान्यतया निम्न प्रक्रिया अपनाउन सकिन्छ ।

१. बैंकको मोबाइल बैंकिङ एप खोल्ने

आफ्नो खाता रहेको बैंकको आधिकारिक मोबाइल बैंकिङ एपमा लगइन गर्ने ।

२. डिजिटल कर्जा विकल्प खोज्ने

एपमा उपलब्ध ‘Digital Loan’, ‘Digital Lending’ वा सोही प्रकृतिको कर्जा विकल्प जाँच गर्ने । यो सुविधा सबै बैंकमा एउटै नाम वा प्रक्रियामा उपलब्ध नहुन सक्छ ।

३. आफ्नो योग्यता जाँच गर्ने

बैंकको प्रणालीले खाताको कारोबार, नियमितता, व्यावसायिक आम्दानी र अन्य आवश्यक विवरणका आधारमा कर्जा पाउन सक्ने योग्यता मूल्यांकन गर्न सक्छ ।

४. आवश्यक विवरण र सहमति उपलब्ध गराउने

व्यवसायको डिजिटल कारोबारसम्बन्धी विवरण विश्लेषण गर्न बैंकले ग्राहकको सहमतिमा भुक्तानी सेवा प्रदायक वा प्रविधि सेवा प्रदायक संस्थाबाट आवश्यक जानकारी लिन सक्ने व्यवस्था छ ।

५. कर्जाको प्रस्ताव स्वीकार गर्ने

योग्य देखिएमा उपलब्ध कर्जा सीमा, ब्याजदर, भुक्तानी अवधि र अन्य सर्त जाँच गरी आवेदन प्रक्रिया पूरा गर्न सकिन्छ ।  

के–के कुरामा ध्यान दिनुपर्छ ?

डिजिटल कर्जा लिन चाहने व्यवसायीले आफ्नो बैंक खाता सक्रिय राख्ने, कारोबारको अभिलेख व्यवस्थित गर्ने र बैंकले मागेका विवरण उपलब्ध गराउने तयारी गर्नुपर्छ । मोबाइल एपमा कर्जा विकल्प नदेखिएमा सम्बन्धित बैंकसँग सम्पर्क गरी आफू उक्त सुविधाका लागि योग्य भए–नभएको बुझ्न सकिन्छ ।

कर्जा लिनुअघि ब्याजदर, सेवा शुल्क, किस्ता तिर्नुपर्ने समय र ढिलो भुक्तानी गर्दा लाग्ने शुल्कबारे जानकारी लिनु आवश्यक हुन्छ ।

नेपाल राष्ट्र बैंकको संशोधित व्यवस्थाले डिजिटल कारोबार गर्ने साना व्यवसायीको कर्जामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । यद्यपि, कर्जा उपलब्धता, स्वीकृत रकम र भुक्तानीका सर्त सम्बन्धित बैंकको मूल्यांकन तथा लागू नीतिअनुसार निर्धारण हुनेछन् ।

सम्बन्धित समाचार