४२ स्थानीयवासीले दान गरे २५ रोपनी जग्गा, पुथा उत्तरगंगामा बन्यो नयाँ प्रशासकीय भवन

1.3k Shares

रुकुमपूर्व, २६ असोज । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वस्थित पुथा उत्तरगंगा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । ६ करोड ६७ लाख ५९ हजार ९ सय ९६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनका लागि ४२ जना स्थानीयवासीले २५ रोपनी जग्गा दान गरेका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढा, गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर र उपाध्यक्ष नरपुरा बुढा पुनले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् । स्थानीयवासीको जग्गादान र सहयोगले भवन निर्माण सम्भव भएको गाउँपालिकाले जनाएको छ ।

भवन उद्घाटनका क्रममा प्रदेश सभा सदस्य बुढाले स्थानीय तहको विकासका लागि भौतिक पूर्वाधार निर्माणसँगै प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताइन् । नयाँ भवनले गाउँपालिकाको प्रशासनिक कामकाज व्यवस्थित बनाउन र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको विश्वास छ ।

गाउँपालिका अध्यक्ष घर्ती मगरले विभिन्न बाधा–अवरोधका बीच प्रशासकीय भवन निर्माण सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । भवन निर्माणका लागि जग्गा दान गर्ने ४२ जना स्थानीयवासीको योगदानको प्रशंसा गर्दै उनले स्थानीयवासीको साथ र सहयोगले विकास निर्माणका काम अघि बढाउन सहज भएको उल्लेख गरे ।

उनले नयाँ भवनबाट नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य रहेको पनि बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बि.क.ले नयाँ भवनबाट प्रशासनिक कामकाज सञ्चालन गर्न तथा विभिन्न शाखामार्फत प्रदान गरिने सेवाको व्यवस्थापन गर्न सहज हुने बताए । जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, समन्वय र आपसी समझदारीबाट मात्रै विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढाउन सकिने उनको भनाइ छ ।

भवन निर्माणसँगै कर्मचारी व्यवस्थापनको आवश्यकता

प्रशासकीय भवन निर्माणलाई उपलब्धिका रूपमा लिइए पनि पर्याप्त कर्मचारी व्यवस्थापन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु गाउँपालिकाका लागि अर्को चुनौती बनेको छ । स्थानीयवासीले नयाँ भवनसँगै आवश्यक जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।

स्थानीय सीता बुढामगरका अनुसार जनसङ्ख्याका आधारमा गाउँपालिका सानो देखिए पनि भौगोलिक विकटताका कारण नागरिकले सरकारी सेवा लिन कठिनाइ भोग्नुपर्छ । त्यसैले भौतिक संरचना निर्माणसँगै दक्ष जनशक्तिको व्यवस्था गर्न आवश्यक रहेको उनले बताइन् ।

त्यस्तै, स्थानीय दिपेन्द्र छन्त्यालले एउटै कर्मचारीले दुईवटा जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न राज्यले ध्यान दिनुपर्ने बताए । दुर्गम क्षेत्रका नागरिकले पनि सरकारी सेवाबाट पूर्ण लाभ लिन पाउनुपर्ने उनको भनाइ छ ।

दुर्गम बस्तीका नागरिकलाई सेवा पुर्‍याउन कठिन

पुथा उत्तरगंगा गाउँपालिका भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित छ । गाउँपालिकाको वडा नम्बर २ का विभिन्न बस्तीबाट गाउँपालिका केन्द्रसम्म पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । यस्तो भौगोलिक अवस्थाले नागरिकलाई सरकारी सेवा सहज रूपमा उपलब्ध गराउन थप चुनौती सिर्जना गरेको छ ।

नयाँ प्रशासकीय भवन निर्माणसँगै गाउँपालिकाको प्रशासनिक कामकाज व्यवस्थित हुने र सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ । तर, भवन निर्माणले मात्रै नागरिकका सबै समस्या समाधान नहुने स्थानीयवासीको भनाइ छ ।

भवनको वास्तविक उपलब्धि नागरिकले पाउने सेवाको सहजता, गुणस्तर र प्रभावकारिताबाट मापन हुनेछ । त्यसैले नयाँ भवन सञ्चालनसँगै आवश्यक कर्मचारी व्यवस्थापन गर्नु, दुर्गम बस्तीका नागरिकको सरकारी सेवामा पहुँच बढाउनु र सेवा प्रवाहलाई प्रभावकारी बनाउनु गाउँपालिकाको मुख्य प्राथमिकता बन्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार