बूढानीलकण्ठमा विद्यालयका प्राचार्यमाथि कुटपिट, दुई जना पक्राउ

1.3k Shares

काठमाडौं । बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि विद्यालय परिसरमै कुटपिट भएको छ। भर्नासम्बन्धी विवादका क्रममा स्थानीय युवाले पण्डितमाथि हातपात गरेका हुन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे रहेका छन्। दुवै जना नेकपा एमालेमा आबद्ध रहेको बताइएको छ।

प्राप्त विवरणअनुसार वडा नम्बर १० की वडा सदस्य रिता दाहालले आफ्नी छोरीलाई विद्यालयमा भर्ना गराउन खोजेकी थिइन्। तर, भर्नाको म्याद सकिएको भन्दै प्राचार्य पण्डितले भर्ना गर्न नमिल्ने जवाफ दिएपछि विवाद सुरु भएको थियो। पक्राउ परेका निशान दाहाल वडा सदस्य रिता दाहालका छोरा हुन्।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष घिमिरेले पनि आफ्नी छोरीलाई कक्षा ११ मा भर्ना गराउन माग गरेका थिए। भर्नाको विषयलाई लिएर उत्पन्न विवादपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सार्वजनिक भएको घटनाको भिडियो फुटेजमा एक युवकले प्राचार्य पण्डितसँग विवाद गरिरहेको देखिन्छ। विवाद चर्किएपछि युवकले पण्डितमाथि मुक्का र लात्ती प्रहार गरेको दृश्य भिडियोमा देखिएको छ।

यद्यपि, विद्यालयमा भर्ना गर्ने विषयलाई घटनाको तत्कालीन कारण बताइए पनि विवादको वास्तविक जड विद्यालय व्यवस्थापन समितिको निर्वाचन रहेको जनाइएको छ। घटनाबारे थप विवरण भने आउन बाँकी छ।

सम्बन्धित समाचार