काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सक्रिय राजनीतिबाट बिदा लिने तयारीमा रहेको बताएका छन्। उनले पार्टीको महाधिवेशनपछि सक्रिय राजनीतिबाट अलग हुने आफ्नो चाहना रहेको खुलासा गरेका हुन्।
शनिबार प्राइम टेलिभिजन एचडीको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा प्रस्तोता ऋषि धमलासँगको संवादका क्रममा नेपालले यस्तो बताएका हुन्। राजनीतिबाट कहिले विश्राम लिनुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले महाधिवेशनसम्म भने पार्टीमा रहनुपर्ने बताए।
‘अब विश्राम लिने समय आउँदैछ। महाधिवेशनसम्म त बस्नैपर्यो। महाधिवेशनपछि के गर्ने भन्ने सन्दर्भमा म त आफ्नो तर्फबाट बिदा लिने पक्षमा छु,’ नेपालले भने।
उनले आफूले सक्रिय राजनीतिबाट बिदा लिने इच्छा व्यक्त गरे पनि पार्टीका नेताकार्यकर्ताले भने तत्काल त्यस्तो घोषणा नगर्न आग्रह गरिरहेको जानकारी दिए। पार्टीका साथीहरूले आफूलाई अझै नेतृत्वमा रहन आग्रह गरिरहेको उनको भनाइ छ।
‘साथीहरूले यो नबोल्नुस् भन्नुहुन्छ। तपाईंकै भरोसामा हामी चलिरहेका छौँ। अर्को विकल्प तयार नभएसम्म तपाईं यो बोल्ने काम नगर्नुस्,’ नेपालले साथीहरूको भनाइ उद्धृत गर्दै भने।
नेपालले भने पार्टीमा नयाँ नेतृत्व तथा वैकल्पिक व्यक्ति तयार गर्नुपर्नेमा जोड दिँदै आएको बताए। नेतृत्वमा सधैँ एउटै व्यक्ति रहिरहनुभन्दा नयाँ विकल्प विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ।
सक्रिय राजनीतिबाट अलग भएपछि सल्लाहकारको भूमिकामा रहेर आराम गर्ने चाहना रहेको पनि नेपालले बताएका छन्। उनको अभिव्यक्तिले पार्टीको आगामी महाधिवेशनपछि नेतृत्वमा हुन सक्ने परिवर्तनबारे चासो बढाएको छ। यद्यपि, उनले सक्रिय राजनीतिबाट अलग हुने औपचारिक निर्णय भने सार्वजनिक गरेका छैनन्।