बूढीगण्डकी बाढीपीडितको उद्धारमा जुट्न प्रचण्डको आह्वान, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

1.6k Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षामा जुट्न सबैलाई आह्वान गरेका छन्।

आइतबार बिहान अचानक आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै प्रचण्डले प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका हुन्।

उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन पनि अनुरोध गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गोरखाको बूढीगण्डकी नदीमा अकस्मात आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छ। प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु। साथै, बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु।’

बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगर क्षेत्रका करिब ३५ घर बगाएको प्रारम्भिक विवरण छ। त्यसैगरी, बाढीका कारण ६ वटा पुल बगाएको बताइएको छ। घटनापछि उक्त क्षेत्रमा ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ।

प्राप्त प्रारम्भिक विवरणअनुसार हालसम्म कम्तीमा १० जना सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको खोजी तथा प्रभावित क्षेत्रका नागरिकको उद्धारलाई प्राथमिकता दिनुपर्ने अवस्था छ।

बाढीका कारण बूढीगण्डकी र त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेकाले स्थानीय बासिन्दालाई नदी किनारबाट टाढा रहन, सुरक्षित स्थानमा जान र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

घटनाको विस्तृत विवरण, मानवीय क्षति र भौतिक संरचनामा भएको नोक्सानीबारे थप जानकारी संकलन भइरहेको छ।

सम्बन्धित समाचार