गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा आएको आकस्मिक बाढीपछि बुढीगण्डकी नदीको बहाव घट्न थालेको छ। यद्यपि, नदीमा बाढीको जोखिम पूर्ण रूपमा नहटेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।बुढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला थुनिएपछि पानी एक्कासि जम्मा भएको र थुनिएको पानी बाहिर निस्कँदा ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले गोरखाको चुमनुब्री क्षेत्रका विभिन्न बस्तीमा क्षति पुर्याउनुका साथै घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा समेत असर गरेको छ।
बाढीका कारण नदी आसपासका बस्ती जोखिममा परेपछि स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। उद्धार तथा राहतका कामसमेत अघि बढाइएको छ।
नदीको बहाव घट्दै गए पनि माथिल्लो क्षेत्रमा पुनः पानीको बहाव बढ्न सक्ने सम्भावनालाई बेवास्ता गर्न नहुने अधिकारीहरूले बताएका छन्। त्यसैले नदी किनारमा नजान, जोखिमयुक्त पुल तथा सडक प्रयोग नगर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।