काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको गल्छी–रसुवागढी सडकखण्ड फूलपातीअघि नै सञ्चालनमा ल्याउने सरकारी लक्ष्य पूरा हुनेमा अन्योल देखिएको छ। सडक तथा पुलमा ठूलो क्षति पुगेपछि अवरुद्ध भएको सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले तीव्र गतिमा काम अघि बढाए पनि भौगोलिक कठिनाइ र पुनर्निर्माणको चुनौती कायमै छ।
बाढीले पुरानो सडक बगाएका स्थानमा वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने र कतिपय ठाउँमा ठूला चट्टान फुटाउनुपर्ने भएकाले काम चुनौतीपूर्ण बनेको छ। स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको खण्डमा समेत थप काम आवश्यक पर्ने देखिएको छ।
यद्यपि, अस्थायी ट्र्याक खोल्नु र सडकलाई दीर्घकालीन रूपमा सुरक्षित तथा भरपर्दो बनाउनु फरक विषय हुन्। बाढीले क्षति पुर्याएका सडक र पुलको स्थायी पुनर्निर्माणका लागि ठूलो लगानी र समय आवश्यक पर्ने भएकाले तत्काल सडक सम्पर्क कायम गर्ने प्रयाससँगै दीर्घकालीन पुनर्निर्माण पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ।