पेरिसडाँडामा सञ्चार तथा प्रविधि नीति पारित, अनुमोदनका लागि प्रचण्ड र नेपाललाई हस्तान्तरण

1k Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सूचना तथा सञ्चारप्रविधि विभागले पार्टीको सूचना तथा सञ्चारप्रविधिसम्बन्धी नीति पारित गर्दै अनुमोदनका लागि पार्टी नेतृत्वलाई हस्तान्तरण गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको विभागको बैठकले नीतिको मस्यौदामाथि छलफल गरी पारित गरेको विभागका प्रमुख युवराज दुलालले जानकारी दिए।

दुलालका अनुसार पारित नीति अनुमोदनका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई हस्तान्तरण गरिएको छ। बैठकमा पार्टी प्रवक्ता प्रकाश ज्वालालगायतका नेताहरूको पनि उपस्थिति थियो।

बैठकले सूचना तथा सञ्चारप्रविधिसम्बन्धी नीति निर्माणसँगै आगामी कार्ययोजना र कार्यविभाजनका विषयमा समेत निर्णय गरेको दुलालले बताए।

पार्टीको सूचना प्रवाहलाई व्यवस्थित बनाउने, सूचना तथा सञ्चारप्रविधिको प्रभावकारी उपयोग गर्ने र संगठनात्मक गतिविधिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नीति तयार गरिएको जनाइएको छ।

पार्टीको सूचना तथा सञ्चारप्रविधिसम्बन्धी नीति निर्माणका लागि तयार पारिएको मस्यौदामाथि बैठकमा विस्तृत छलफल भएको थियो। पारित नीतिलाई पार्टी नेतृत्वबाट अनुमोदन गराएपछि यसको कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित समाचार