एमाले स्थायी कमिटी बैठक निष्कर्षविहीन, मनोनयनबारे भोलि फेरि छलफल हुने

1.2k Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक कुनै निर्णयमा नपुगी टुंगिएको छ। अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यमा मनोनयनका लागि थप नाम प्रस्ताव गरेपछि नेताहरूबीच असन्तुष्टि देखिएसँगै बैठकमा सहमति जुट्न नसकेको हो।

पार्टीको प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।

बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेका स्थायी कमिटी सदस्यका थप नामबारे नेताहरूले असन्तुष्टि जनाएपछि अन्य विषयमा छलफल भएको थियो। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य मनोनयनका विषयमा केही नेताबीच अनौपचारिक छलफलसमेत भएको एक नेताले जानकारी दिए। ती विषयमा थप छलफल गरी भोलिको बैठकमा प्रस्ताव पेस गर्ने सहमति भएको जनाइएको छ।

बैठकपछि एमाले सचिव पद्मा अर्यालले पार्टीका विभिन्न तहमा पदाधिकारी तथा सदस्य मनोनयन गर्ने विषयमा नेताहरूले आ–आफ्ना धारणा राखेको बताइन्।

उनका अनुसार केन्द्रीय कमिटीमा रिक्त रहेका स्थान पूर्ति गर्ने, पोलिटब्युरो सदस्य मनोनयन गर्ने र स्थायी कमिटीमा रिक्त स्थानमा सदस्य चयन गर्ने तयारी भइरहेको छ।

पार्टीका विभिन्न कमिटीमा मनोनयनको विषय टुंग्याउन एमालेले आन्तरिक छलफललाई निरन्तरता दिएको छ। भोलि बस्ने स्थायी कमिटी बैठकमा यी विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार