काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति उनको शल्यक्रिया गरिएको हो। हाल उनको स्वास्थ्यमा सुधार भइरहेको र अस्पतालमै उपचार जारी रहेको जनाइएको छ।
शल्यक्रिया सफल भएपछि राईले उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका कर्मचारीप्रति आभार व्यक्त गरेका छन्। स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पतालमा उपचाररत रहनुपरे पनि पार्टीको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पार्टीका साथीहरूले आफ्नो उम्मेदवारीप्रति देखाएको सद्भाव र समर्थनले आफूलाई हौसला मिलेको उनले बताएका छन्।
स्वास्थ्य समस्याका कारण सबैको फोन उठाउन नसकेको उल्लेख गर्दै राईले त्यसका लागि क्षमासमेत मागेका छन्। आफ्नो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुकप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहेका बेला राईको स्वास्थ्यमा समस्या देखिएको हो। उपचारपछि उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ।