काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेतृ विद्या देवी भण्डारी ११ वर्षपछि पार्टीको औपचारिक बैठकमा सहभागी भएकी छन्। एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुनुअघि उनले अध्यक्ष केपी शर्मा ओलीबाट वरिष्ठ नेताको शपथ लिने कार्यक्रम तय भएको छ।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले भण्डारीलाई अध्यक्ष ओलीपछिको दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’को जिम्मेवारी दिने निर्णय गरेको थियो। उक्त निर्णयपछि उनी सक्रिय पार्टी राजनीतिमा फर्किएकी हुन्।
भण्डारी यसअघि एमालेकी उपाध्यक्षसमेत थिइन्। राष्ट्रपति पदमा निर्वाचित भएपछि उनी सक्रिय दलगत राजनीतिबाट अलग भएकी थिइन्। राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि भने उनी पुनः पार्टी राजनीतिमा सक्रिय हुने प्रयासमा थिइन्।
आजको स्थायी कमिटी बैठक एमालेको ११औँ महाधिवेशनपछि पहिलो बैठक हो। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका आगामी गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने एमालेले जनाएको छ।
भण्डारीको पार्टीमा पुनरागमनसँगै एमालेभित्रको आन्तरिक राजनीतिक समीकरणबारे पनि चासो बढेको छ। पार्टीले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएपछि उनको आगामी राजनीतिक भूमिका र संगठनभित्रको सक्रियतालाई विशेष रूपमा हेरिएको छ।