नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ओखलढुंगाका नेता कुमार लुइँटेल चर्चामा आएका छन्। लुइँटेलले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेविसंघ हुँदै करिब तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय लुइँटेलले आफ्नो उम्मेदवारीलाई पुस्तान्तरण, सांगठनिक रूपान्तरण र कार्यकर्ताको न्यायसँग जोडेर अघि सारेका छन्। उनले पार्टीभित्र गुटबन्दीको अन्त्य, विधि तथा पद्धतिको पालना र तल्लो तहका कार्यकर्ताको उचित मूल्यांकन गर्दै आधुनिक तथा प्रविधिमैत्री कांग्रेस निर्माण गर्ने बताएका छन्।
लुइँटेल हालै ओखलढुंगाबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। यसअघि प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलसँग ५ मतको झिनो अन्तरले पराजित भएका थिए।
महाधिवेशनमा उनको उम्मेदवारीलाई कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्व र संगठनात्मक सुधारसँग जोडेर चर्चा गरिएको छ।