काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयकी उपकुलपति सस्मिता पोखरेलले विश्वविद्यालयका सबै संकायको परीक्षाफल एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएकी छन्। उनले प्रधानमन्त्रीबाट आएको उक्त निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित अधिकारीलाई आग्रह गरेकी हुन्।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक साधारणसभा तथा सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले परीक्षा समयमै सञ्चालन नहुने र नतिजा प्रकाशनमा ढिलाइ हुने समस्या अन्त्य गर्नुपर्ने बताइन्। विद्यार्थी संख्या धेरै भएकाले नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले अधिकार तल्लो तहसम्म प्रत्यायोजन गरी विकेन्द्रीकरणको नीति प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन्।
उनले विश्वविद्यालयलाई समयानुकूल, प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउन ठोस योजना आवश्यक रहेको बताइन्। साथै नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने गरी उच्च शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री पोखरेलले विश्वविद्यालय सुधारको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्ने बताउँदै विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन र समाजमा प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सीप र सिर्जनशीलतासहित तयार गर्नुपर्ने धारणा राखिन्।
उनले शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गर्दै परीक्षा सञ्चालन र नतिजा प्रकाशन निर्धारित समयमै गर्न, अनुसन्धानमा लगानी बढाउन तथा विश्वविद्यालय र उद्योगबीच सहकार्य विस्तार गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइन्।