कांग्रेस महाधिवेशनको निर्णायक दिन : नयाँ केन्द्रीय कार्यसमितिका लागि मतदान हुँदै

1.3k Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार सुरुमा बिहान ७ बजे मतदान गर्ने कार्यतालिका रहे पनि भारी वर्षा तथा केही प्राविधिक कारणले समय सारेर बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको थियो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका विभिन्न स्थानमा प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा मतदान गर्ने व्यवस्था गरिएको छ भने अन्य प्रदेश तथा समूहका प्रतिनिधिका लागि खुलामञ्च र सम्बन्धित हलहरूमा मतदान केन्द्र तोकिएको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।

मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान रोक लगाइएको छ। उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ।

महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य चयन हुनेछन्। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन समितिको छ।

 

सम्बन्धित समाचार