नेतान्याहु र विपक्षीबीच अक्टोबर ७ को घटनालाई लिएर आरोप–प्रत्यारोप

1.2k Shares

जेरुसेलम । इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचन नजिकिँदै गर्दा सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण चुनावी अभियानको प्रमुख मुद्दा बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका राजनीतिक विरोधीहरूले सुरक्षा विफलता, युद्ध तथा सरकारको जिम्मेवारीका विषयलाई चुनावी बहसको केन्द्रमा राखेका छन्।

इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनका अनुसार अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको छ। विपक्षी दलहरूले आक्रमणका बेला भएको सुरक्षा विफलताको जिम्मेवारी नेतान्याहुले लिनुपर्ने बताउँदै घटनाबारे आधिकारिक अनुसन्धान आयोग गठन, सुधार तथा पुनर्निर्माणमा केन्द्रित सरकार बनाउने प्रतिबद्धता जनाएका छन्।

यता नेतान्याहुका समर्थकहरूले सैन्य नेतृत्वको कमजोरीका बाबजुद उनले कठिन परिस्थितिमा देशलाई अघि बढाएको दाबी गर्दै आएका छन्। चुनावले नेतान्याहुको राजनीतिक भविष्यसमेत निर्धारण गर्ने भएकाले अक्टोबर ७ को घटनासँग जोडिएका विषय थप महत्वपूर्ण बनेका छन्।

सन् २०२३ को हमास आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए। त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो। स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धका क्रममा ७४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। युद्धको प्रभाव लेबनान, सिरिया, यमन र इरानसम्म फैलिएको छ।

नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। अक्टोबर ७ पछि प्रमुख सुरक्षा अधिकारीहरूले राजीनामा दिएपछि उनी पदमा रहेका एकमात्र वरिष्ठ अधिकारी भएको बताइएको छ। उनका प्रमुख प्रतिद्वन्द्वी पूर्व सैन्य प्रमुख गदी आइसेनकोटका छोरा र भतिजासमेत युद्धमा मारिएका छन्।

चुनावी बहसमा गाजाको मानवीय संकट तथा प्यालेस्टिनी राज्य स्थापनाको विषय भने तुलनात्मक रूपमा कम चर्चामा रहेको जनाइएको छ। इजरायल डेमोक्रेसी इन्स्टिच्युटका अनुसार ६० प्रतिशतभन्दा बढी इजरायलीले अक्टोबर ७ को घटनाप्रतिको धारणा आफ्नो मतदान निर्णयमा प्रमुख कारक रहेको बताएका छन्। यहुदी मतदातामध्ये यस्तो धारणा राख्नेको संख्या ६८ प्रतिशत रहेको छ।

हर्मनका अनुसार अक्टोबर ७ को घटनालाई महत्वपूर्ण ठान्ने मतदाताबीच पनि त्यसबाट निकालिएको राजनीतिक निष्कर्ष भने फरक–फरक रहेको छ।

सम्बन्धित समाचार